
काठमाण्डौ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ ।
अहिले पनि घर–घरमा रामायण पढ्ने गरिन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ । ‘बधुशिक्षा’ उहाँको अर्को कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक चेतना जगाउन भानुभक्तको योगदान रहेको छ।



भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकोले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउछन्। रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युग निर्माण गरेको मानिन्छ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।








