
काठमाण्डौ ।
सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ ।
चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ ।



यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो ।
जोनसन खोपको मात्रा एक पटक मात्र दिए पुग्छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरूमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने विभागका महानिर्देशक डा सिंहले जानकारी दिनुभयो ।
सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरू, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइनेछ ।








