
काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
दिउँसो १ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको बैठकमा पार्टीको आन्तरिक विवाद समाधान तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने भएको हो ।



सर्वोच्च अदालतले संसद पुनर्स्थापनाका आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेपछि हिजोको स्थायी कमिटी बैठकमा यसै विषयमा छलफल भएको थियो।
सर्वोच्चको फैसलाबारे आज पनि थप छलफल हुने र पार्टीको आधिकारिक धारणा बनाइने प्रवक्ता प्रदीप ज्ञवालीले जनाकारी दिए।
नेकपा एमालेमा जारी लामो समयको अन्तरविरोध अन्त्यका लागि कार्यदलले बनाएको १० बुँदे सहमतिको प्रस्तावमा आज औपचारिक छलफल गर्ने तयारी भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आजको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्ष पनि सहभागी हुने संस्थापन पक्षले बताएको छ। तर माधव नेपाल समूहका नेता तथा उपाध्यक्ष भीम रावलले भने जाने नजाने बारेमा अहिले छलफल भइरहेको र त्यसपछि टुंगो लाग्ने बताए।
आजको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति तोक्ने र एजेण्डा तय गर्ने लगायतका कार्यसूची तयार भएको कार्यालय सचिव तामाङले बताए।









