
जानका न्यौपाने (भट्टराई) /पाल्पा ।
ट्याक्टरमाथि पहिरो खस्दा पाल्पामा एक जनाको मृत्यु भएको छ ।
डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा बोकेर जाँदै गर्दा ट्याक्टर हिलोमा फसेको थियो ।



तिनाउ गाउँपालिका–६ डुम्रेको कच्ची सडकमा फसेको लु४त ६६२९ नम्बरको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा सहचालक बर्दियाका २७ वर्षीय मुमलाल पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर गम्भीर घाइते भएका सहचालक पुनको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्याक्टर फसेपछि लु १ क २४९७ नम्वरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा जेसीबी चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।
घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









