
जानका न्यौपाने (भट्टराई)/कपिलबस्तु ।
कपिलबस्तुमा विभिन्न हातहतियारसहित चारजना पक्राउ परेका छन्।
बाणगंगा नगरपालिका–८ मोर्मीबाट चार थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन्।



ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले टिकारामको घरबाट २ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद, गुम बहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसैगरी कपिलवस्तु नगरपालिका–११ जहदी चोकबाट ‘मेड इन युएसए’ लेखिएको लोडेड पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्ड सहित ३६ वर्षीय मन्नु यादव भन्ने माथेश्वर प्रसाद यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
युपि ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक यादवलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।









