
अर्घाखाँची ।
अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्योट गर्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट अदालत बनेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्योट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभयो ।



कुल मुद्दाको ७० दशमलव ९३ प्रतिशत मुद्दा फर्छ्योट गरेको अर्घाखाँची अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फर्छ्योट गर्ने अदालत बनेको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा बाँकी रहेका एक सय ४९ थान र गएको आर्थिक वर्ष २०७७/०७८ का दुई सय ८० थान गरी चार सय ३० थान मुद्दा रहेकोमा तीन सय पाँच थान मुद्दा फर्छ्योट भएको अदालतका स्रेस्तेदार महेश खनालले जानकारी दिनुभयो ।
अर्घाखाँचीपछि सबैभन्दा बढी प्युठान जिल्ला अदालतले ७० दशमलव ३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६ दशमलव ४१ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।अर्घाखाँची जिल्ला अदालतमा अब एक सय २५ थान मुद्दा बाँकी रहेका छन् ।
अदालतले गएको आर्थिक वर्षमा तीन सय मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा तीन सय पाँच थान अर्थात् लक्ष्यको तुलनामा १०१ दशमलव ६६ प्रतिशत फर्छ्योट गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताउनुभयो ।
अघिल्लो तीन आर्थिक वर्षको मुद्दाको स्थितिलाई तुलना गरी हेर्दा यस आवमा सबैभन्दा बढी मुद्दा परेको र फर्छ्योट पनि बढी नै भएका छन् ।









