
काठमाण्डौ ।
मुस्लिम धर्मालम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।



इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।
देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरे पनि कोरोनाको जोखिम रहेकाले घरमै बसेर सुरक्षितरुपमा मनाउन मुस्लिम आयोगको आग्रह छ ।
सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।









