
दिपक भट्टराई
पाल्पा, श्रावण १८
पाल्पा बुटवल सडकको हेडवक्र्समा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, रामापिथेकस पार्क र सिद्धबाबा बीचमा अचानक माथिल्लो भागबाट ढुंगा खसेर च्याप्दा स्याङजा वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँडको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिपका सह–चालक हुन् । खाँडको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
स्याङ्जाको चापाकोट नगरपालिका–५ का चालक डिलु थापा घाइते भएका छन् । लु २ च ७३८७ नम्बरको जिपमा ढुंगा खसेर गाडी च्याप्दा दुवै जना घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । स्याङजाबाट बुटवलतर्फ गइरहेको सिंगल क्याब जिपमा अचानक ढुंगा खस्दा उनीहरु घाइते भएका थिए ।
लु २ च ७३८७ नम्बरको बोलेरोलाइ सोमबार बेलुकी माथि बाट झरेको पहिरोले पुरिएको हो । जिपमा बेलुकी साढे ७ बजे सडक माथिबाट ठूलो ढुंगा खसेको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक एकतर्फी सञ्चालनमा आइसकेको छ ।












