
अर्घाखाँची, ७ भदौ ।
अर्घाखाँची जिल्लाका सबै स्थानीय तहहरूमा ६ करोड ३९ लाख ३० हजार रूपैयाँ बेरूजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तहमा उक्त रकम बेरूजु देखिएको हो। महालेखाले अर्घाखाँचीका स्थानीय तहमा कुल ७ अर्ब १ करोड ५९ लाख ८८ हजार रूपैयाँको लेखा परीक्षण गरेको थियो ।
छत्रदेवमा सबैभन्दा कम बेरूजु
७७ अंकका साथ स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कनमा अर्घाखाँचीका स्थानीय तहहरूमा सबैभन्दा अग्रपङ्तीमा रहेको छत्रदेव गाउँपालिकाले अर्घाखाँचीका स्थानीय तहमा सबैभन्दा कम बेरूजु निकाल्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त गाउँपालिकाको ९४ करोड ३२ लाख ७७ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा ३३ लाख ७ हजार रुपैयाँ मात्र देखिएको छ । जुन कुल परीक्षण रकमको ०.३५ प्रतिशत हुन्छ ।



भुमिकास्थानमा सबैभन्दा बढी बेरूजु
स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन ९ीक्ष्क्ब्० मा अर्घाखाँचीका स्थानीय तहहरू मध्येमा ३५ अंकका साथ सबैभन्दा कमजोर देखिएको भुमिकास्थान नगरपालिकाको बेरूजु अर्घाखाँचीका स्थानीय तहहरूमा सबैभन्दा बढी देखिएको हो । महालेखा परीक्षकको कार्यालयले उक्त नगरपालिकाको १ अर्ब ५ करोड ३४ लाख ७३ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा २ करोड ५८ लाख ९ हजार बेरूजु महालेखापरीक्षणको ५८ औं वार्षिक प्रतिवेदनले देखिएको छ । जुन कुल परीक्षण रकमको २.०५ प्रतिशत हुन जान्छ ।

त्यस्तै, ६ स्थानीय तह रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको ७० लाख १४ हजार रुपैयाँ, मालारानी गाउँपालिकाको १ करोड ३८ लाख १२ हजार रुपैयाँ, शितगंगा नगरपालिकाको १ करोड १६ लाख ५२ हजार रुपैयाँ र सन्धिखर्क नगरपालिकाको ६५ लाख ५६ हजार रुपैयाँ बेरूजु महालेखापरीक्षणको ५८ औं वार्षिक प्रतिवेदनले औंल्याएको छ । समग्रमा अर्घाखाँचीका स्थानीय तहहरूको कुल बेरूजु ६ करोड ३९ लाख ३० हजार रुपैयाँ देखिएको छ । जुन कुल परीक्षण रकमको ०.९१ प्रतिशत हो ।









