
भदौ १३, २०७८



अविरल वर्षासँगै गएको पहिरोले स्याङ्जामा एक होटलसहित चार घर पुरेको छ । गल्याङ नगरपालिका १ राम्दीमा घर माथिबाट आइतवार दिउँसो गएको पहिरोले घर तथा होटल पुरेको हो ।
पहिरोमा पुरिएर वालिङ नगरपालिका १४ घर भएकी धनमाया उम्राहको ज्यान गएको स्याङ्जाका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो । पूजापाठका लागि राम्दी पुगेकी उम्राह चिया खानका लागि होटलमा पसेको प्रहरीको भनाइ छ ।
त्यस्तै होटलमा नै बसेका अन्य तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरी प्रमुख बोगटीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना १ का १६ वर्षीय शिशिर योगी र भिरकोट नगरपालिका ५ का ३४ वर्षीय नारायण तिवारी घाइते भएका हुन् ।
पहिरोले होटल, स्थानीयवासी दीपेन्द्र श्रेष्ठ र सीता परियारको घरमा क्षति पुर्याएको छ भने अर्को एक घरमा सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ ।
सिद्धार्थ राजमार्ग माथिबाट पहिरो गएकाले बाटो बन्द भएको छ । पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।








