
गुल्मी ।
गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको हो ।
जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उनका छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।



मंगलबार राति करिब १ बजे पहिरोले घर परिँदा सुतिरहेका तीनै जनाको मृत्यु भएको हो। उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ।
शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। तिलक, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो । जसमध्ये तिन जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।










