
काठमाडौं ।
नेपालीहरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।
भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कूष्माण्डा भनिएको हो । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ।



देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन्। कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन्। देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् ग्रन्थमा उल्लेख छ।
चतुर्थ शक्तिको पूजाले वायु तत्वको सन्तुलन शरीरमा ठीक हुने शास्त्रीय वचन छ । पूजापछि माल पूवाको प्रशाद चढाउँने र बाँढेर खानाले बुद्धि दिमाग तीब्र हुने धार्मिक अध्येताहरू बताउँछन् । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।
वडा दशैंको पहिलो दिन दशैँ मनाइने घरघरमा घटस्थापना गरि शैलपुत्रीको पूजा गरिन्छ भने, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।








