गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१० पाँचरातेमा लु१ज ४४९० नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । गए राति करिब ११ बजे जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मुसिकोट नगरपालिका–३, नेटाकी १९ वर्षीया संगीता सुनार, मुसिकोट नगरपालिका–२, जलजलाका ७० वर्षीय क्षेत्रबहादुर थापा र सोही ठाउँकी ४० वर्षीया राधिका थापाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।



गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले भने, ‘‘जिप गए राति ११ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये एकजना डिस्चार्ज भएसकेका छन् ।” घाइते पाँचजनाको भने उपचार भइरहेको जनाइएको छ ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ ।









