
काठमाडौं ।
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन्।
वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ।



एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै‚ कात्तिक ९ गते सबै स्थानीय तहमा अधिवेशन हुनेछ।
एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।








