
कार्तिक ३०, अर्घाखाँची
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका नेता नविन खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टी केन्द्रले आह्वान गरेको नेपाल बन्द सफल बनाउदै हिडेका खड्कालाई आज दिउसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेकपाको भुमिकास्थान र सन्धिखर्कका नगर इन्चार्ज समेत रहेका नेता खड्कालाई तत्काल रिहाईको माग गर्दै नेकपाले जिल्ला प्रहरी कार्यालय अगाडी नारावाजी सहित प्रदर्शन गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले जनताको माग उठाउदा आफ्ना नेतालाई नियन्त्रणमा लिइएको बताउदै तत्काल रिहाई नगरिए जस्तोसुकै कदम चाल्न आफुहरु बाध्य हुने बताउनु भयो ।
हिजो मसाल जुलुसको क्रममा प्रहरी माथी आक्रमण गरेको र ड्युटीमा रहेको राष्टसेवकमाथी अभद्र व्यवहार गरेका कारण नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिनुभयो ।
यता नेकपाले आह्वान गरेको बन्दको अर्घाखाँचीमा पूर्ण प्रभाव परेको छ । बनदका कारण छोटो तथा लामो दुरीका सवारी साधन चलेनन भने बजार तथा शैक्षिक संस्था ठप्प भएका थिए ।












