
चितवन ।
राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तमाङको घरमा आगलागी हुँदा उनका नातिनातिहरुको मृत्यु भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा तीन वर्षका बालबालिकाहरु सुरज रुम्बा र मनिषा तामाङ रहेका छन् ।



हिजो शनिबार बिहान १० बजेतिर जितबहादुरको जस्ताले छाएको र काठले बारेको घरमा आगलागी भएको थियो ।
केटाकेटीहरुले घरमा राखेको सोलारको ब्याट्री खेलाउँदा उक्त दुर्घटना भएको हुन सक्ने वडाध्यक्ष सिद्धिलाल स्याङ्तानले बताए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
जितबहादुरको घर पनि जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा रहेको कोदो, १० मुरी धान र फाइबरको ब्लाङ्केटहरु जलेर नोक्सान भएको वडा सदस्य मोचन तमाङले बताए ।








