
काठमाण्डौ ।
दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ ।
दक्षिण अफ्रिका, हङकङलगायतका देशमा देखिएको भेरियन्ट नेपालमा पनि आउन सक्ने उच्च जोखिम रहेको विज्ञले बताएका छन् । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने भएको छ ।



सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ ।








