
गुल्मी ।
गुल्मीमा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार जिल्लामा यस आर्थिक वर्षमा मात्रै ४० वटा महिला हिंसा सम्बन्धी उजुरी परेको हो । त्यसमध्ये ३१ वटा घटनालाई मिलापत्र गराएर छोडिएको र ९ वटा महिला हिंसाका घटना जिल्ला अदालत पठाएएको भट्टराईले बताए।



जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका कार्यक्रममा प्रहरी उपरीक्षक भट्टराइले जिल्लाको तथ्याङ्क सार्वजनिक गरेका थिए । उनले रेसुङ्गा नगरपलिकामा सहभागीहरुलाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण दिंदै भट्टराईले संसारका ३५ प्रतिशत महिलाहरुले लैङ्गिक हिंसा व्यहोरिरहेको तथ्य प्रस्तुत गरे ।
भट्टराईका अनुसार ३८ प्रतिशत महिलाको हत्या आफ्नै यौन साथीबाट हुने गरेको छ । यस्तै नेपालमा ४० प्रतिशत महिलाहरुले मानसिक हिंसा, २७ प्रतिशतले शारीरिक, १५ प्रतिशतले यौन हिंसा र ८ प्रतिशतले आर्थिक हिंसा व्यहोर्ने गरेको उनले बताए।
उनका अनुसार नेपालका १५ देखि ४९ वर्षका महिलाहरुमध्ये २२ प्रतिशतले शारिरीक र १२ प्रतिशतले यौन हिंसा व्यहोर्ने गर्छन् । नेपालका ६६ प्रतिशत महिलाहरुलाई लैंगिक हिंसा सम्बन्धी कुनै ज्ञान नभएको उनले उल्लेख गरे ।
कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सामाजिकीकरणका कारण महिला हिंसाका घटना हुने गरेको बताए । उनले महिला हिंसा अन्त्यका लागि प्रहरी प्रशासनको ध्यान ३६५ दिन नै हुनु पर्नेमा जोड दिए ।









