
काठमाडौं।
शिक्षक सेवा आयोगले खुलातर्फको अनलाइन आवेदन खोल्ने तयारी गरेको छ ।
आयोगले तयार गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिर भित्र अनलाइन आवेदन दिन मिल्ने गरी खोल्ने तयारी भइरहेको आयोगले जनाएको छ ।आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले अनलाइन आवेदनको लागि तयार गरिएको सफ्टवेयर परीक्षण भइरहेको जानकारी दिए । अध्यक्ष रेग्मीले भने ‘हामी अनलाइन आवेदनको लागि तयारी गरेको सफ्टवेयरको परीक्षण गरिरहेका छौं । कार्यतालिकाभित्रै रहेर विज्ञापन खोल्छौं ।’



आधुनिक प्रविधिको प्रयोगसँगै सबैका लागि सहज बनाउने उद्देश्यले अनलाइन विज्ञापन खोल्ने तयारी गरेको अध्यक्ष रेग्मीको भनाइ छ ।
आयोगको कार्यतालिका अनुसार खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ ।
सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि भदौमा अन्तर्वार्ता गरी असोजमा शिक्षक सिफारिस गर्ने आयोगले बताएको छ ।








