
बुटवल ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी माघ ८ गते बाँकेको नेपालगञ्जमा हुने भएको छ ।



एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको छैठौं बैठकले प्रदेश अधिवेशन नेपालगञ्जमा गर्ने निर्णय गरेको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । बैठकले प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १९९ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ ।
प्रदेश अधिवेशनका लागि प्रदेशका १२ वटै जिल्लाले पुस २८ गतेभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरिएको छ ।
जसअनुसार २०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, दलितका लागि १०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, हरेक ३ जना प्रतिनिधिमा १ जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपाङ्गता भएका, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुने गरी मापदण्ड बनाइएको छ ।
हाल दुई सय ५४ सदस्यीय प्रदेश कमिटीलाई घटाउँदै दुई सय पाँच सदस्यीय बनाउन लागिएको छ । जसमा ५२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिने उनले बताए ।









