
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ ।
यसअघि करिब १५०० प्रतिनिधि सहभागी हुने भनिएपनि अन्तिम समयमा संख्या बढाइएको हो ।आजको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनमा १६३१ जना सहभागी हुने बताए ।



१४८३ प्रतिनिधि छनोट भइसकेको उनले बताए । ती प्रतिनिधिको १० प्रतिशत मनोनीत गर्ने पार्टीले निर्णय गरेको छ । मनोनीत गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पाएका छन् ।
१० प्रतिशत मनोनीत गर्दा १४८ प्रतिनिधि थपिने प्रवक्ता महराले जानकारी दिए ।पहिले ५ प्रतिशत मनोनित गर्ने भनिए पनि हाल उक्त प्रतिशत बढाइएको हो ।
स्थायी कमिटी बैठक भोलि पनि बस्ने उनले बताए । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज पेस गरेका थिए । सो दस्तावेजमाथि भोलिको बैठकमा छलफल हुने महराले बताए ।








