
काडमाडौँ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी(जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले निवेदन दिएका थिए।



त्यस्तै शनिबार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाल परिवार दलले निर्वाचनमा भाग लिन पाऊँ भन्दै दल दर्ता गराएका हुन्।
आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ।
आयोगको बैठक डाकेर ती दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने प्रवक्ता शर्माले जानकारी दिए।
आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो।
राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्य छन्।








