
काठमाडौं ।
पश्चिमी वायुको प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ।



दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
पहाडी भू–भागको एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु आग्रह गरेको छ।








