
काठमाडौं ।
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको सेवा सुविधा नदिने सञ्चार प्रतिष्ठानमा कालो ब्यानरसहित धर्ना दिने भएको छ।
महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।



बैठकले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखिएका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई पुनः आग्रह गरिने निर्णय गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सेवासुविधा नदिने अन्नपूर्ण पोष्ट, नागरिक दैनिक, दि हिमालय टाइम्स, राजधानी दैनिक, रेडियो सगरमाथा, इमेज च्यानल, न्यूज २४ लगायतका सञ्चारमाध्यममा कालो ब्यानरसहित धर्ना दिने निर्णय बैठकले गरेको छ।
श्रम समस्या समाधान गर्न अटेर गर्ने सञ्चार प्रतिष्ठानमा महासंघले थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, कालोसूची तयार गरी सार्वजनिक गर्ने र आवश्यक कानुनी लडाइँलाई समेत अवलम्बन गर्ने महासंघले जनाएको छ।
यस्तै महासंघले केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकारहरूको श्रम समस्या हेर्न र सहजीकरण गर्न श्रम डेस्क स्थापना गर्ने पनि निर्णय गरेको छ।








