
काठमाडौं ।
कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको २२ राज्यमा फैलिएको छ ।
शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो ।
शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमित पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । योसँगै ओमिक्रोनका संक्रमितको संख्या १ हजार २७० पुगेको छ ।



ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै दिल्लीमा छन् । त्यहाँ हालसम्म २६३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको महाराष्ट्रमा ओमिक्रोनका संक्रमितको संख्या २५२ जना पुगेको छ ।
ओमिक्रोनका संक्रमित फेला पर्ने पछिल्लो राज्य बिहार बनेको छ ।त्यहाँ हालै दिल्लीबाट आएका एक पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।
यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा तेस्रो लहर सुरु भएको बताएका छन् ।









