
बुटवल ।
तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुटवल उपमहानगरपालिकाले आफूहरुको माग सम्बोधनमा बेवास्ता गरेको भन्दै संघर्ष समितिले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।



सडक निर्माणका क्रममा १५ सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गर्दै आएको छ ।
संघर्ष समितिले आन्दोलका कार्यक्रम अन्र्तगत पुस २० गते नगरपालिका गेट अगाडि थाल थटाएर प्रदर्शन, पुस २२ गते नगरपालिका गेट अगाडि अर्धनग्न प्रदर्शन र पुस २५ गते नगरपालिकाका वडा कार्यालयसहित नगरपालिकामा तालाबन्दी गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष आत्मबहादुर रानाले माग सुनुवाइ नभएमा जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिए । तिनाउ दानव करिडोर सडक क्षेत्रमा पर्ने सबै घर–टहरा तथा जग्गाका समस्या समाधान गरेर मात्र काम अघि बढाउनुपर्ने उनले बताए ।
आयोजना शुरु हुनुपूर्व उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई करिडोर क्षेत्रमा जग्गासम्बन्धी कुनै विवाद नरहेको भनी झुटो पत्र पठाउँदा अहिले समस्या आएको अध्यक्ष रानाले बताए ।
नगर प्रमुख शिवराज सुवेदीले माग सम्बोधन गर्नुको साटो संघर्ष समितिसँग भेटघाट गर्न समेत नमानेपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको संघर्ष समितिका सल्लाहकार वीरेन्द्रबहादुर बिकले बताए ।









