
नयाँदिल्ली ।
भारतका दिल्ली तथा मुम्बईमा कोभिड संक्रमितको संख्या तीव्र रूपमा वृद्धि भएको छ ।
दिल्लीमा शनिबार संक्रमितको संख्या २ हजार ७ सय १६ पुगेको छ । पछिल्लो एक दिनमै एक हजार संक्रमित थपिएका छन् ।



पछिल्लो ७ दिनमा मात्रै संक्रमितको संख्या दिल्लीमा १० गुनाले वृद्धि भएको छ ।
दिल्लीमा डिसेम्बर २६ मा २ सय ९० जना संक्रमित थिए । लगातार २ दिन संक्रमण दर ०.५ भन्दा माथि पुगेपछि सरकारले विभिन्न सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाइसकेको छ । ‘यलो अलर्ट’ जारी गर्दै मेट्रो तथा बसमा सिट संख्याको आधा मात्रै यात्रु हिँड्न पाउने, सिनेमा हल, पार्टी प्यालेस बन्द गर्नुका साथै रात्रिकालीन निषेधाज्ञा जारी गरिएको हो ।
नयाँ वर्षको पहिलो दिन सार्वजनिक तथ्यांकअनुसार संक्रमण दर ४ प्रतिशत पुग्न लागेको छ ।
यो अवस्थामा दिल्ली सरकारले सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाउन सक्ने जनाएको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले थप प्रतिबन्धको अनिवार्य अवस्था आइसकेको बताएका छन् ।
दिल्लीमा धेरै संख्यामा गरिएको जिनोम परीक्षणबाट संक्रमितमध्ये ५० प्रतिशतमा ओमिक्रोन पाइएको छ ।
शनिबारसम्म भारतका २५ राज्यमा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ । दिल्ली र महाराष्ट्र सबैभन्दा बढी प्रभावित छन् ।









