
बुटवल ।
बेमौसमी वर्षाका कारण रुपन्देहीमा आठ करोड मूल्यबराबरको काँचो इँटा नष्ट भएको छ । काँचो इँटाको बिमा नहुँदा जिल्लाका ४७ भन्दा बढी इँटा व्यवसायी मर्कामा परेको इँटा व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताए ।
बर्षाकै कारण व्यवसायीहरू बर्सेनि करोडौंको नोक्सान व्यहोरिरहेकाले बिमाको सुविधा उपलब्ध गराउन उनले माग गरेका छन् । बुधबार भएको वर्षाले रुपन्देही जिल्लामा मात्रै करिब सवा तीन करोड काँचो इँटा गलेर नष्ट भएको छ ।



इँटा बनाएर भट्टीमा पोल्न तयारी गरिएको अवस्थामा अचानक पानी पर्दा तीन करोड २५ लाखभन्दा बढी काँचो इँटा गलेर नष्ट भएको हो । जिल्लामा रहेका कुल ५० वटा उद्योगमध्ये सञ्चालनमा रहेका ४७ उद्योगका इँटा गलेर नष्ट हुँदा व्यवसायीले आठ करोड १२ लाखभन्दा बढी रुपैयाको नोक्सानी भएको उनले बताए ।
यस्तै
बुधबार आएको बेमौसमी वर्षाले कपिलवस्तुका ७० भन्दा बढी इँटा उद्योगका सम्पुर्ण इँटा नष्ट भएका छन् । जिल्लाको कृष्णनगर, विजयनगर, शिवराज, महाराजगन्ज, बुद्धभूमि, तैलिहवा, मायादेवी, यशोधरा, शुद्धोधन, बाणगंगामा सञ्चालित उद्योगहरूमा ठूलो क्षति पुगेको व्यवसायीहरूले बताएका छन् ।
काँचो इँटाको बिमा नहुँदा कपिलवस्तुमा २० करोडभन्दा बढी मूल्यका इँटा नष्ट भएर नोक्सान व्यहोर्नुपरेको इँटा व्यवसायी संघ कपिलवस्तु अनुगमन समिति संयोजक शिवप्रसाद बन्जाडेले बताए ।









