
पाल्पा,पुस १८



पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका ७ जना सबैको सनाखत भएको छ। १६ जना घाइते भएका छन्।
अर्घाखाँचीको मालारानी गाउँपालिका २ का २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक, ३३ वर्षीय अर्जुन विक, रूपन्देही बुटवल उपमहानगरपालिका ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, सोही ठाउँका ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर रानाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए।
शवसहित मलामी बोकेर बुटवलदेखि गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका(२ लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको थियो।
घाइतेमध्ये ९ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालमा ७ जनाको उपचार भइरहेको त्वातीले बताए।









