
काठमाडौं ।
राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलिका लागि सारिएको हो ।



आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बाहिरिने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा मिलेर चुनावमा जाने तयारीमा छन् ।
प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनुपर्ने चुनौती देखिएको छ ।








