
बुटवल ।
बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न रुपन्देहीका व्यवसायीहरुले आग्रह गरेका छन् ।
कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र उठ्दै गरेका बेला तरलता अभावले अर्को समस्या देखिएको वक्ताहरुले बताएका हुन् ।



सोमबार बुटवलमा आयोजित रुपन्देही व्यापार संघको २० औं साधारण सभा तथा ११ औं अधिवेशनमा बोल्ने वक्ताहरुले बैंकिङ क्षेत्रको तरलताले उद्योग व्यवसायको गतिविधि बढाउन, सामान आयात गर्न र रोजगारी बढाउन नसकेको दुखेसो पोखका छन् ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले दलहरु राजनीतक खिचातानीमा लाग्दा सरकारी खर्च कम भएकोले बजारमा तरलता अभाव देखिएको भन्दै अब सरकारी खर्च गर्न ढिलाइ नगर्न आग्रह गरे । ‘तरलता अभावले नीजी क्षेत्रलाई हातखुट्टा बाँधेजस्तै भएको छ,’ उनले भने, ‘ तिनै तहका सरकार अब हेरेर मात्रै बस्न भएन । बजेट खर्चन र समस्या समाधानमा लाग्नुपर्यो ।’
व्यवसायीहरुले स्वदेशी बजार र व्यवसाय बढाउन सिमा क्षेत्रबाट विना भन्सारका सामान भित्रन र सिमापारी व्यापार गर्न जाने उपभोक्तालाई रोक्न पनि सरकासँग आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वलकुमार कसजुले सिमामा कडाइ नहुदा पछिले समय सिमावर्ती क्षेत्रको व्यापार ठप्प हुने अवस्थामा पुगेको जनाए ।
‘हामीसंग सरकारले पेलेर कर लिएको छ । तर घरखर्चका नाममा सिमाबाट जतिसुकै सामान ल्याउन दिएको छ ।
यसलाई रोक्नुपर्छ,’ उनले भने । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले स्वदेशी वस्तुको मूल्य निर्धारणदेखि व्यापारमा सरकारले लचकता देखाउनु पर्ने बताए ।









