
काठमाण्डौ ।
कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ ।
प्राविधिक लगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।



आज मङ्गलवारदेखि खोप लगाउन सुरु गर्न भनेर हिजो सोमवार देशभरि नै पत्राचार गरिएकोमा कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए ।
तर दिनभर आएको प्रतिक्रिया अनुसार कतिपय ठाउँमा एक मात्रासम्म नपाइएको अवस्थामा अतिरिक्त मात्रा लगाउँदा प्राविधिक रूपमा समेत नमिलेको जस्तो भएर माघ सम्मका लागि अभियान स्थगित गरिएको उनले बताए ।
अतिरिक्त मात्रा खोप अभियान रोकिए पनि कोरोनाको अरू नियमित खोप अभियान भने सञ्चालन भइरहने सहप्रवक्ता अधिकारीको भनाई छ ।
अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरूले पाउने भनिएको थियो ।








