
काठमाण्डौ ।
भोलि बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।
आज मङ्गलवार रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र यसको प्रभाव भोलिदेखि शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



महाशाखाले आज विशेष बुलेटिन निकाल्दै पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य असर देखिइसकेको मौसमविद् मञ्जु बासीले जानकारी दिईन । सुदूरपश्चिममा भोलिदेखि पानी पर्न थाल्ने उनले बताईन् ।
आइतवारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।
यो प्रणालीको असर सुदूरपश्चिममा बढी र प्रदेश १ र २ मा कम पर्ने सम्भावना छ । सामान्य प्रभाव भने देशभरि नै पर्नेछ ।








