
काठमाडौं ।
हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको अवस्था लगभग सामान्य बन्न थालेको छ ।
कोरोना संक्रमणका कारण लामो समय बन्द रहेपछि खुलेको पशुपतिनाथमा दर्शनार्थीहरूको घुइँचो बढ्न थालेको छ । यद्यपि स्वास्थ्य मापदण्डमा भने अहिले पनि कडाइको अवस्था छ ।



पछिल्लो समय पशुपतिनाथको दर्शनका लागि भारतबाट आउने भक्तजनको संख्या समेत बढिरहेको छ । कोरोनाको लडकडाउन खुलेपछि पनि लामो समय मन्दिर दशनार्थीहरूका लागि खुला गरिएको थिएन ।
गत तीजपछि मात्रै पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गरिएको थियो । त्यस यता स्थानीय दर्शनार्थीहरू मन्दिर पुग्ने गरेका थिए ।
पछिल्लो समय अर्थात इस्वी संवत्को नयाँ वर्षको अवसरमा भने भारतबाट समेत दर्शनार्थीहरू ठूलै संख्यामा आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।
विशेष गरी मंसिर, पुस र माघ महिनामा अन्य महिनाको तुलनामा दर्शनार्थीहरूको संख्या बढ्ने गर्छ ।
हिन्दुहरू र त्यसमाथि पनि शिवभक्तहरूको महान पर्व शिवरात्री नजिकिँदै जाँदा पशुपतिनाथमा दर्शनार्थीहरूको संख्या अत्यधिक हुने उनको भनाइ छ ।
मन्दिर सर्वसाधारणका लागि खुला रहेको भए पनि कोभिड नियन्त्रणका मापदण्ड भने दर्शनार्थीले पालना गर्नुपर्दछ ।
मन्दिरमा दर्शनको अवस्था सामान्य बनेसँगै पशुपति क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूले पनि राहतको सास फेरेका छन् । उनीहरूले आफ्नो व्यापार लयमा फर्किएको बताएका छन् ।








