
काठमाडौं ।
सरकारले इजाजतबिना सञ्चालनमा रहेको मोबाइल गेमिङदेखि अनलाइन व्यवसायसम्मका गतिविधि नियन्त्रण गर्ने भएको छ ।
यस्ता गतिविधिबाट मानिसहरू ठगिएको र असुरक्षा बढेको भन्दै सरकारले नियन्त्रणमा लिने जनाएको हो ।
गृह मन्त्रालयले गैरकानुनी भन्दै त्यस्ता खालका गतिविधिमाथि निगरानी गर्ने, नियन्त्रणमा लिने र कानुनअनुसार कारबाही गर्ने पनि चेतावनी शुक्रबार दिएको छ ।



गृह प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘अनलाइन वा विद्युतीय कारोबारका नाममा गाउँ, टोल, समाजमा नेटवर्किङ व्यवसाय,अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, अनलाइन बीमा, अनलाइन गेमिङ, घुम्ती बैंकिङ वा यस्तै प्रकृतिका अन्य नाममा व्यावसायिक क्रियाकलाप गैरकानुनी रूपमा फस्टाउँदै गएकाले यस किसिमका अनलाइन वा नेटवर्किङ व्यवसायका नाममा हुने इजाजतप्राप्त बाहेकका जुनसुकै गतिविधिहरूको निगरानी राख्ने,नियन्त्रण गर्ने र त्यस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
पछिल्लो समय अनलाइन नेटवर्किङ व्यवसायको नाममा ठगिएका घटनामा वृद्धि हुँदै गएको प्रहरी प्रतिवेदनहरूले देखाएका छन् ।
युवा–युवतीमाझ चर्चित मोबाइल गेमिङदेखि अनलाइन बैंकिङ र अनलाइन सहकारीको नामबाट पनि ठगी धन्दा मौलाएको प्रहरी अधिकारीहरू बताउँछन् ।
सुचना :









