
कमल कान्त खनाल २०७८ पुष २३ गते, भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा नगरपालिकाको नियमन क्षेत्रमा सञ्चालित सहकारी संस्थाका पदाधिकारीहरुका लागि सम्पत्ति शुद्धीकरण निवारण कानून पालना सम्बन्धी एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगर उपप्रमुख उमा काफ्लेज्यूको अध्यक्षता रहेको कार्यक्रममा नगरपालिकाको आर्थिक विकास समितिका संयोजक थानेश्वर पौडेलज्यू र सदस्य रुपमाया पुनज्यूको समुपस्थिति थियो भने राष्ट्रिय सहकारी बैक लि। भैरहवा शाखाका प्रबन्धक आलोक शिवाकोटी सहित नगरक्षेत्र भित्रका सहकारीका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी गरी ४८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिल केशब न्यौपानेले सम्पत्ति शुद्धीकरणको शैद्धान्तिक तथा अवधारणागत विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सहकारी शाखा प्रमुख कमल कान्त खनालले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून र सहकारी संस्थाले पालना गर्नु पर्ने प्रावधानहरु बारे कार्यपत्र प्रस्तुतिकरण गर्नु भएको थियो ।




सि.न.पा ३ स्थित होटल क्याशलमा सञ्चालन भएको कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख उमा काफ्लेले सहकारीहरु नीति र विधिमा रहेर कानूनको परिपालना गर्दै सञ्चालन गर्नु पर्ने धारणा राख्नु भयो । नगरपालिकाले चालू आर्थिक वर्षमा सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरुको लागि विभिन्न कार्यक्रम अगाडी सारेकोले त्यस्ता कार्यक्रममा सहभागी भई लाभ लिन सबैलाई अनुरोध गर्नुभयो ।









