
काठमाण्डौ ।
आजदेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
वाग्मती प्रदेशमा आजैदेखि पारिलो घाम लाग्न थाल्ने र अरु प्रदेशमा भने पर्सिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार अरु प्रदेशमा न्यूनचापीय प्रणालीको प्रभाव पर्सिसम्म नै रहनेछ ।
यस प्रणालीको प्रभावका कारण केही दिनदेखि मौसम बद्ली भएर केही ठाउँमा वर्षा र हिमपात भएको छ ।
आज पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
भोलि पनि सुदूरपश्चिम र प्रदेश–१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।








