
देउखुरी ।
कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् ।
घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो।



बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताए। आजभोलि मन्दिरमा दैनिक पूजा भइरहेको छ।
मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुईदेखि तीन सय भक्तजन आउने गरेको उनले बताए । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला हुने अध्यक्ष बुढाले जानकारी दिए ।
यसपालि कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका बिरामीको सङ्ख्या बढ्दै गएपछि लमही नगरपालिकाले कुनै किसिमका मेला तथा महोत्सव नगर्नका लागि सूचना जारी गरेका कारण रिहारमा लाग्ने मेला स्थगित भएको हो ।
थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भान्जी मन्दिर, तप्त कुण्ड (तातोपानी पोखरी), घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिए ।
रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो ।दाङका धार्मिकस्थलहरुमा अघिल्ला वर्षहरुमा माघीमा मेला एक महिनाअघि देखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ ।महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले कोरोनाको जोखिम बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिए ।









