
बुटवल ।
लुम्बिनी प्रदेशका उर्जा,जलश्रोत तथा सिंचाई मन्त्री बीर बहादुर रानाले एकले अर्काको मौलिक संस्कृतीको सम्मान गरेर अगाडी बढ्न सके सबै जात–जाती, भाषा भाषि र समुदायको उन्नती हुने बताएका छन् ।
माघे संक्रान्तिको अवसरमा नेपाल मगर महिला संघ रुपन्देहीद्धारा बिहीबार बुटवलमा आयोजित ‘माघे संक्रान्ती बिशेष कार्यक्रममा बोल्दै मन्त्री रानाले उक्त कुरा बताएका हुन् । नेपालीहरुका आफ्नै किसिमका मौलिक चाड पर्व रहेको भन्दै मन्त्री रानाले चाड पर्व मनाउदा मिठो मसिनो खाने र रमाइलो गर्ने मात्रै भन्दा पनि जनचेतनामूलक कार्यक्रम गरेर मनाउनुपर्नेमा जोड दिए ।



मुलुक समृद्ध हुँदा सबै जात–जाती,भाषा भाषी र समुदाय समृद्ध हुने भन्दै उनले त्यसको लागि आम नेपाली जनताको चेतनास्तर माथी उठाउनु पर्ने बिचार ब्यक्त गरे ।
नेपाल बहुजातीय र बहुभाषीक मुलुक भएको भन्दै मन्त्री रानाले जातीय र भाषीक अधिकारको आवाज उठाउनु जायज भए पनि कुनै जाती,भाषा,धर्म,क्षेत्र र समुदायको नाउँमा हुने अतीबाद भने स्वीकार्य नहुने बताए ।
मुलुकमा ब्यवस्था परिबर्तन भए पनि काम गर्ने पुरानो संस्कार र प्रबृत्ति परिबर्तन हुन नसकेको भन्दै उनले परिबर्तीत व्यवस्था अनुसार काम गर्ने प्रबत्तिमा परिबर्तन ल्याउन सामाजिक संघ संस्थाहरुले निरन्तर दबाब दिन जरुरी रहेको बताए ।
नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष चन्दा थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य गीता सारु,नेपाल आदीबासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा,जनजाती पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सोनु थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त नेपालका धेरै आदीवासी जनजातीहरुले माघे संक्रान्ति मनाउने भए पनि मगरहरुले मनाउने माघे संक्रान्ति छुट्टै खालको भएको धारणा राखेका थिए ।
संघकी जिल्ला उपाध्यक्ष निर्मला थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सचिब राधिका श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।









