
सुनवल ।
नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले बेहोर्दै आएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।



दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या समाधान भइ उद्योगलाई मागअनुसार विद्युत् दिन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनु पर्ने बाध्यात्मक अवस्था थियो, अब यस्तो अवस्थाको अन्त्य भइ उद्योगलाई मागअनुसार पर्याप्त विद्युत् सकिन्छ,’कार्यकारी निर्देशक घिसिङले भने ।
‘सुनवल क्षेत्रमा सञ्चालित उद्योगहरुलाई विद्युत् आपूर्तिका लागि १३२÷३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ, सबस्टेसनको निर्माण आउँदो चैत÷वैशाखभित्रमा सकिने छ, त्यसपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत् उद्योगहरुलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुने छ।’
केही महिनाअघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिएका थिए ।
१९ किलोमिटर सिङ्गल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताए ।
सुनवल क्षेत्रमा लक्ष्मी स्टिल्स,पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योगहरु सञ्चालित छन् । ती उद्योगहरुले आफ्नो क्षमता वृद्धिका लागि थप विद्युत् माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योगहरु खुल्ने क्रममा रहेका छन् ।









