
दाङ ।
प्रहरीले दुई छुट्टाछुट्टै मुद्दामा फरार रहेका दुई व्यक्तिलाई दाङमा पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका–३ का ५३ वर्षीय नैनबहादुर कामी र घोराही–३ कै ४० वर्षीय टेकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।



कामीलाई दाङ जिल्ला अदालतले २०७६ साल असार ३ गते लेनदेन मुद्दामा १ वर्ष कैद फैसला गरे पनि उनी फरार रहेका थिए।
फरार कामीलाई खोजतलास गर्दै जाँदा माघ ५ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
त्यस्तै उनका अनुसार नेपालीलाई पनि दाङ जिल्ला अदालतले लागुऔषध मुद्दामा २०७८ साल वैशाख १५ गते २ वर्ष कैद र १ लाख जरिवाना फैसला गरे पनि उनी फरार थिए।
उनीलाई पनि माघ ५ गते बिहान लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिए।
पक्राउ परेका दुवैजनालाई शुक्रबार अदालतमा बुझाइएको प्रहरीले बताएको छ।









