
बुटवल ।
भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको निरीक्षणपश्चात उनले भने ’मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।’ हुस्सु, कुहिरो र भिजिबिलिटी कम लागेको बेला भने फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् ।



मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन् । उनले भने, ’कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।’
लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण जाँच गरी उडानको तयारी गर्न आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्ने बताए ।

एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले भने ’यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिब्रेशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ हुनेछ तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।’
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अहिलेसम्म आईसीपी वान र टु गरेर साढे सात अर्ब रुपैयाँ लगानी भइसकेको छ ।









