
काठमाडौं ।
उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् ।
व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।
उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो ।



चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङ कर्पोरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ ।
साल्ट टे«डिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।
चिनी उत्पादन संघका अध्यक्ष सशिकान्त अग्रवाल अहिले उपभोक्ताले प्रतिकिलो चिनी ९० देखि ९२ रुपैयाँमा उपभोग गर्न पाउनुपर्ने बताउँछन् । सरकारले उखुको मूल्य बढाएको र विगतभन्दा ढुवानी भाडा, बैंक ब्याजदर बढेका कारणले चिनी उत्पादन लागत बढ्न जाँदा केही मूल्य बढेको अध्यक्ष अग्रवालले बताए । किलोको सय रुपैयाँ चाहिँ बढी नै हो,’ अग्रवालले भने ।
उद्योग, वाणिज्य उपभोक्ता संरक्षण विभागका निर्देशक प्रेमकुमार श्रेष्ठले भने कोभिडका कारण अनुमगन गर्न पर्याप्त जनशक्ति नभएको बताए । बजार मूल्य अध्ययन गरी चिनीमा बढेको मूल्यमा विभागले अनुगमन गर्ने उनले बताए । राजधनी दैनिकमा समाचार छ ।








