
काठमाडौं ।
सरकारले आज देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा बुधवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधवार देशभर सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।



यस्तै सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’बापत प्राप्त हुने १ सय ५० बिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
प्रवक्ता कार्कीले नेपाल टेलिभिजनको अध्यक्षमा ४ वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिएका छन् । सरकारले नेपाल खुला विश्वविद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।
शिक्षक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रियाअघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भएको छ भने सफा हिमाल अभियान २०२० मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटी बापतको रकम छुट दिने निर्णय पनि गरेको छ । राजधानी दैनिकमा समाचार छ ।








