
काठमाडौं ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने भन्दै आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको बताए।



उनले भने, ‘सभामुख विधिसम्मत रुपमा चल्नुभएन । यदि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं।’ हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं। महाभियोग लगाउन हामीसँग बहुमत पनि छैन।’ रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे।
उनले भने,‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ। त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन। नेपाली जनताको समर्थन र सहारा चाहिएको छ।
जनताको माहोल अहिले एमालेतिर छ।
उनले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमत र शानदार विजयी हाँसिल गर्ने दाबी समेत गरे।








