
दाङ ।
दाङमा ५१ हजार ४ सय ७८ मतदाता थप भएका छन्।
प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार २०७७ पुस ५ पछि यो सङ्ख्या थप भएको हो।
यसमा १६ वर्ष पूरा भएका तर १८ वर्ष नपुगेका व्यक्तिको समेत सङ्ख्या समावेश भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।



पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा २ लाख ११ हजार ९ सय ५४ महिला, २ लाख ३ हजार १४ जना पुरुष र २ जना तेस्रोलिङ्गीसहित दाङको मतदाता सङ्ख्या ४ लाख १४ हजार ९ सय ७० पुगेको छ।
दाङमा २०७७ पुस ५ पछि सबैभन्दा बढी मतदाता तुलसीपुर उपमहानगरपालिकामा थपिएका छन्।
तुलसीपुर उपमहानगरपालिकामा १६ हजार ७१ जना मतदाता थपिएका छन्।
त्यसैगरी घोराही उपमहानगरपालिकामा १३ हजार ७७ जना र लमही नगरपालिकामा २ हजार ६ सय ६९ जना थप भएको निर्वाचन कार्यालयले जनाएको छ।








