
काठमाडौं ।
सामान्य टाउको दुख्दा, रुघाखोकी लाग्दा वा ज्वरो आउँदा धेरैजसोले सिटामोलको प्रयोग र्छन् ।
विश्वमा नै सामान्य दुःखाइको लागि प्रयोग हुने औषधीको रुपमा सिटामोल परिचित छ । कोरोना महामारीमा समेत यसैको प्रयोग अधिक देखिन्छ ।
तर,अत्यधिक मात्रामा सिटामोलको प्रयोग गर्नाले विभिन्न रोग निम्त्याउने एक अध्ययन प्रतिवेदनले जनाएको छ ।
दीर्घकालीन रुपमा दुःखाइ कम गर्न सिटामोलको प्रयोग गरिएमा उच्च रक्तचाप हुनसक्ने अध्ययनले देखाएको हो ।



एडिनबरा विश्वविद्यालयका अध्ययनकर्ताहरूले बिरामीलाई दीर्घकालीन रूपमा पारासिटामोल सिफारिस गर्नुअघि डाक्टरहरूले यसको जोखिम र फाइदालाई विचार गर्नुपर्ने बताएका छन् ।
उनीहरूले टाउको दुख्दा र ज्वरोका लागि पारासिटामोल सेवन गर्दा एक पटक सोचेर मात्र प्रयोग गर्न सुझाएका हुन् ।
त्यसमाथि पनि रक्तचाप भएका रोगीहरुलाई सिटामोलको प्रयोगले निकै हानि पुग्ने बताइएको छ ।
विश्वविद्यालयले रक्तचाप भएका र नभएका व्यक्तिमा अध्ययन गर्दा रक्तचापको समस्या भएकामा जटिल अवस्था देखिएको हो ।
उनीहरूलाई दुई साता दैनिक चार पटक एक ग्राम पारासिटामोल सेवन गर्न लगाइएको थियो । अर्को दुई साता उनीहरूलाई सेवनमा रोक लगाइएको थियो ।
परीक्षणमा पारासिटामोलले रक्तचाप बढाएको देखायो जुन हृदयाघात र मस्तिष्कघातको कारक भएको तथ्य निकालिएको हो ।
साथै, अध्ययनकर्ताहरूले चिकित्सकलाई बिरामीलाई नियमित पारासिटामोल सेवन गर्न दिँदा सकेसम्म थोरै मात्रा सिफारिस गर्न आग्रह गरेका छन् ।
रक्तचाप एवम् मुटुसम्बन्धी रोगबारे चनाखो रहन पनि सुझाव दिएका छन् ।








