
काठमाडौँ ।
शिक्षक सेवा आयोगले आगामी चैतमा सञ्चालन गर्ने खुला पदपूर्तिको परीक्षामा सहभागी हुन २ लाख ३४ हजार ५ सय ९४ जनाले आवेदन दिएका छन् ।
आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १७ हजार ४ सय ५५ स्थायी शिक्षक नियुक्ति गर्न विज्ञापन खुलाएको छ । त्यसमा प्रतिस्पर्धा गर्न अस्थायी अध्यापन अनुमतिपत्र लिएका उम्मेदवारहरूले दरखास्त दिएका हुन् । आवेदन दिनेमा केही विषयमा अनुमतिपत्र प्राप्त नगरेका पनि छन् । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले परीक्षामा प्रतिस्पर्धा गर्न उत्साहजनक रूपमा दरखास्त परेको जनाए । ‘माग संख्याको तुलनामा लोक सेवा आयोगमा भन्दा पनि चर्को प्रतिस्पर्धा हुने देखियो,’ उनले भने ।



दरखास्तहरूको रुजु गरेर कार्यतालिकाअनुसार चैतमा परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । त्यसका लागि आचारसंहिता, प्रश्नपत्र निर्माणलगायत तयारीको काम भइरहेको छ ।
माविको चैत १५, निमावि चैत १७ र प्राविको चैत १९ मा परीक्षा सञ्चालन गर्ने तालिका छ । तीनवटै तहमा प्रदेश १ बाट सबैभन्दा बढी दरखास्त परेको छ । प्राविमा १ लाख १३ हजार ३ सय ९५ जनाले आवेदन दिएका छन् । उक्त तहमा १३ हजार २ सय ९७ स्थायी शिक्षकका लागि विज्ञापन खुलाइएको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले बताए ।
प्राविमा प्रदेश १ मा २३ हजार ४ सय ७८ र सबैभन्दा कम कर्णालीमा ९ हजार २ सय ७७ जनाले दरखास्त दिएका छन् । निमाविमा देशभरबाट ८५ हजार ६ सय ५४ जनाको आवेदन परेको छ । यसमा २ हजार ६ सय ६ शिक्षक पदका लागि विज्ञापन खोलिएको छ ।
निमाविमा पनि कर्णालीबाट सबैभन्दा कम र प्रदेश १ बाट सबैभन्दा धेरै दरखास्त परेको उनले जनाए । कर्णालीमा ५ हजार १ सय ९९ र प्रदेश १ मा २० हजार ९ सय २२ जनाले फारम भरेका छन् ।
त्यस्तै माध्यमिक तहमा मधेस प्रदेशबाट सबैभन्दा कम र प्रदेश १ बाट सबैभन्दा धेरैले आवेदन दिएका छन् । १ हजार ५ सय ५२ पदका लागि विज्ञापन खुल्दा ३५ हजार ५ सय ४५ जनाको दरखास्त परेको छ । माविका लागि प्रदेश १ मा ८ हजार ८ सय ३२ र मधेस प्रदेशमा २ हजार २ सय ६ जनाले प्रतिस्पर्धा गर्दै छन् । प्रदेशअनुसार शिक्षकको माग संख्या पनि फरक छ ।
आयोगले चार वर्षपछि सामुदायिक विद्यालयका लागि स्थायी शिक्षक नियुक्ति प्रक्रिया अघि बढाएको हो । पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको थियो ।
मरहट्ठाले दरखास्त रुजु गर्ने क्रममा रहेकाले केही संख्या थपघट हुन सक्ने जनाए । ७ लाखभन्दा बढी विद्यार्थी स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएर बसेको तथ्यांक छ । मावि र निम्न माध्यमिक तहको विषयअनुसार प्रदेशगत रूपमा र प्राविको जिल्लागत रूपमा विज्ञापन गरिएको थियो ।








