
नेपालगञ्ज ।
बाँकेको खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ।
आठ वटा पालिका रहेको बाँकेमा बालविवाहमुक्त घोषणा हुने खजुरा जिल्लाको तेस्रो गाउँपालिका हो ।
गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपश्चात खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो।
गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको छ।



खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई बाँके जिल्लाकै तेस्रो बालविवाहमुक्त गाउँपालिका घोषणा गर्न सकेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा अभियानलाई निरन्तरता दिँदै बालविवाहलाई शून्य अवस्थामा झार्न सबै सरोकारवाला निकायलाई अनुरोध गरे।
बालविवाहमुक्त गाउँपालिका घोषणा सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले खजुरा गाउँपालिका बालविवाहमुक्त घोषणा भएको प्रमाणपत्र अध्यक्ष कक्षपतिलाई प्रदान गरेका थिए।
घोषणा सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले बालविवाहमुक्त गाउँपालिका घोषणा हुन सफल भएकोमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र साझेदार गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुप्रति आभार प्रकट गरे। उनले यही फागुन अन्त्यसम्ममा जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए।
बाँके जिल्लामा यसअघि जानकी र बैजनाथ गाउँपालिका बालविवाहमुक्त घोषणा भइसकेका छन्।









