
बुटवल ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थलमा १० दिनसम्म यो उडान सञ्चालन हुन लागेको हो ।
प्राधिकरणले आज मङ्गलवार सार्वजनिक सूचना प्रकाशित गरी ’क्यालिब्रेशन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो ।
उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाईको जहाज फागुन ५ गते काठमाण्डौको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्नेछ ।



काठमाण्डौबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।
गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सम्पन्न भइसकेको छ ।
उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायु सेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
परीक्षण उडानपछि यो विमानस्थमा व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।









